ओलीको पदचिन्ह पछ्याए प्रचण्डको सरकारले हिउँद काट्दैन – सहअध्यक्ष राजेन्द्र श्रेष्ठ

खसान, मगरात र तराई थरुहटमा प्रशिक्षण कार्यक्रम सम्पन्न । पुराना दलहरू यस्तै शैलीमा अगाडी बढे यो संविधानको मलामी जाने समेत हुँदैन ।

doti-khasan-1२०७३ भाद्र २८, डोटी । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले आन्दोलनरत सङ्घीय गठबन्धनसँग साउन १९ गते भएको ३ बुँदे सहमतीको मर्म र भावना विपरीत संविधान संशोधन गर्नु पूर्व नै विवादित सातवटा प्रदेशमा उच्च अदालत गठन गरी त्यसको मुकाम तोकेको भन्दै कडा आपत्ति जनाएका छन् ।

पार्टीको केन्द्रीय पार्टी स्कूल तथा प्रशिक्षण विभागको कार्यक्रममा प्रमुख अतिथिको रूपमा खसान प्रदेशको डोटी पुगेका श्रेष्ठले बुडरमा कार्यक्रमको उद्घाटन गर्दै उत्पीडित समुदायको माग सम्बोधन गर्न तिन बुँदे सहमती गरी संविधान संशोधन गर्ने प्रतिबद्धता जाहेर गरेका र असन्तुष्ट पक्षको माग सम्बोधन नै संविधान कार्यान्वयनको पहिलो सर्त रहेको पटक पटक बताउँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले के. पि. शर्मा ओलीकै शैलीमा काम गर्न थालेको भन्दै उनले प्रचण्डमा पनि ओलीकै भूत सवार भएको बताएका छन् । सरकारको उक्त कार्य यथास्थिती र प्रतिगमनकै निरन्तरता भएको बताउँदै उनले ओलीको पदचिन्ह पछ्याए प्रचण्डको सरकारले हिउँद नकाट्ने कुरा बताए । तिन बुँदे सहमतिका लागि वार्ता प्रक्रियामा संलग्न नेता श्रेष्ठले भने, ‘सरकारले यो प्रक्रिया अबिलम्ब रोक्नु पर्दछ । संविधानप्रति असहमत बहुसङ्ख्यक जनताको मुद्दाहरूलाई उपेक्षा गर्दै सरकार अगाडी बढे त्यो आन्दोलनरत सङ्घीय गठबन्धनलाई मान्य नहुने समेत नेता श्रेष्ठले बताए ।

भारत भ्रमणको पूर्वसन्ध्यामा संविधान संशोधनको एजेण्डालाई गलत ढङ्गले प्रचार गरेकोेप्रति कटाक्ष गर्दै प्रमुख अतिथि श्रेष्ठले भने, ‘नेपालको संविधान संशोधन भारतको एजेण्डा होइन । यो त नेपालका उत्पीडित र उपेक्षित राष्ट्रियताहरूको ऐजेण्डा हो । उनले भारतलाई रिझाउनका लागि के. पि. ओलीको सरकारले तत्कालिन उपप्रधानमन्त्री कमल थापा मार्फत नेपालको संविधान संशोधनको प्रस्ताव भारतमा पठाए जस्तै अहिले प्रचण्ड सरकारले पनि संविधान संशोधनलाई भारतको एजेण्डा जस्तो ठानेर कहिले भारत भ्रमण अगाडी त कहिले भारतबाट फर्केपछि संविधान संशोधन गर्ने कुरा गर्न थालेको भन्दै त्यस्तो गलत प्रवृत्तिबाट मुक्त हुनुपर्छ तर प्रचण्ड पनि मुक्त हुन नसकेको आरोप लगाए ।’ उनले पुराना दलहरू यस्तै शैलीमा अगाडी बढे यो संविधानको मलामी जाने समेत नभेटिने भन्दै आन्दोलनको बलबाट नयाँ संविधान लेखिने समेत बताए । उनले भने ‘तिन बुँदे सहमतिको मूल स्पिरिट भनेको नै पहिचान सहितको सङ्घीयता, प्रदेशको सङ्ख्या, सिमाङ्कन तथा अधिकार क्षेत्र, स्वायत्त र संरक्षित क्षेत्र निर्धारण, समानुपातिक समावेशिता, भाषिक नीति, धर्म निरपेक्षता, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता, बहुराष्ट्रियता लगायतका मुद्दाहरूको सहमतिका आधारमा संविधान संशोधन गरी आन्दोलनरत दलहरूको माग सम्बोधन गर्नु हो । संविधान संशोधनबाट नभए जनताको आन्दोलनको बलबाट अधिकार सुनिश्चित भएरै छाड्ने छ । त्यो कुरा आजसम्मको विश्वको इतिहासले पुष्टि गरेको छ ।’

खसान प्रादेशका अध्यक्ष हेमन्तराज मान्डव्यले अध्यक्षता, डोटी जिल्ला अध्यक्ष कृष्ण दर्लामीले स्वागत तथा प्रदेशका मुख्य सचिव मोहन गुरुङले सञ्चालन गरेको उक्त उद्घाटन कार्यक्रमको लगतै त्यहाँ प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । उक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपाली क्रान्तिको सिद्धान्त सङ्घीय समाजवादबारे, उपाध्यक्ष युवराज कार्किले खस समुदायमाथिको उत्पीडन, पहिचान र मुक्तिको आन्दोलनबारे, हेमराज राईले पार्टीको वर्तमान परिस्थिति र राजनीतिक कार्यदिशाबारे, महासचिव रामसहाय प्रसाद यादवले पार्टीको सङ्गठनात्मक सिद्धान्त र विधानबारे तथा राजनीतिक समितिका सदस्य धीरेन्द्र वहादुर श्रेष्ठले वर्तमान संविधानबारे प्रशिक्षण दिएका थिए । प्रशिक्षण सत्रको अध्यक्षता केन्द्रीय पार्टी स्कूल तथा प्रशिक्षण विभागका प्रमुख धीरेन्द्र वहादुर श्रेष्ठले गरेका थिए भने धन्यवाद ज्ञापन केन्द्रीय सदस्य तथा खसान प्रदेश इन्चार्ज वीरेन्द्र वहादुर बोगटी र प्रशिक्षण कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य तथा विभागका सचिव सानुराजा शाक्यले गरेका थिए ।

यस अघि तराई थरुहटको भैरहवा र मगरातको रोल्पा लिबाङमा पनि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएका थिए भने दाङको लमही र बाँकेको नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम भएको थियो । यी कार्यक्रमहरूबाट पार्टी विस्तार र सुदृढीकरणमा निकै टेवा पुगेको र यस्ता कार्यक्रमहरू बराबर भइ रहनु पर्ने कुरा सहभागीहरूले बताए ।
doti-khasan-2

doti-khasan-3

doti-khasan-4

doti-khasan-5

doti-khasan-6

doti-khasan-7

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *