समानुपातिक निर्वाचन प्रणालीलाई बुझ्नु उखान टुक्का भन्नु जस्तो होइन – सहअध्यक्ष श्रेष्ठ ।

काठमाडौँ, २०७४ पुस १ गते । सङ्घीय समाजवादी फोरम, नेपाल काठमाडौँ जिल्ला समितिको आयोजनामा आज पुस्पलालपथस्थित नेपाः ब्यान्क्वेटमा पार्टीको विस्तारित भेला सम्पन्न भयो । जिल्ला अध्यक्ष मनरत्न शाक्यको अध्यक्षतामा भएको उक्त भेलामा पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले प्रतितिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि पार्टीको चुनौति र अवसरबारे बोल्दै नेपालमा पहिचानको आन्दोलनले नयाँ स्वरूप ग्रहण गरेको बताए ।

नेता श्रेष्ठले अव नेपालमा पहिचानको आन्दोलन तीनवटा स्वरूपमा अगाडी बढ्ने भन्दै मधेसमा कार्यान्वयन, लिम्बुवान, थरुहट, नेवाः लगायतका क्षेत्रमा सङ्घर्ष र खसान क्षेत्रमा प्रचारात्मक आन्दोलनको रूपमा अगाडी बढ्ने कुरा बताए । उनले भने “२ नम्बर प्रदेशको पहिलो बैठकले नै त्यसको नाम मधेस प्रदेश राख्ने र त्यसले पहिचान पक्षधरका लागि भारतको तामिलनाडुले जस्तै भूमिका खेल्ने छ ।” उनले भने “त्यहाँ हुने प्रत्येक कामले अरु प्रदेशलाई पनि पहिचान प्राप्तिको आन्दोलनका लाग्न प्रेरित गर्ने छ ।”
उक्त कार्यक्रममा नेता श्रेष्ठले नेपालको संविधान अनुसार राष्ट्रिय सभा गठन नभई सङ्घीय संसदले पूर्णता नपाउने भन्दै प्रतिनिधिसभा र राष्ट्रियसभाको अलग अलग नभई सङ्घीय संसदमा ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्था भएको हुँदा राष्ट्रपतिले राष्ट्रियसभा सम्बन्धि विधेयकमा तुरुन्त लालमोहर लगाउनुपर्ने कुरा बताए ।

सहअध्यक्ष श्रेष्ठले एमाले नेता के.पि. ओलीले राष्ट्रियसभा गठन सम्बन्धी विधेयकमा रहेको एकल सङ्क्रमणीय निर्वाचन प्रणालीलाई असंवैधानिक भनेकोमा आश्चर्य प्रकट गर्दैै भने – “एमाले नेता ओलीले संविधानले बढीमतीय र समानुपातिक निर्वाचन प्रणालीलाई मात्र चिन्दछ, एकल सङ्क्रमणीय निर्वाचन प्रणालीलाई चिन्दैन भन्नु भएछ । यसले एमाले नेता के. पि.ओलीको आफ्नो दलगत स्वार्थ मात्र होइन अल्पज्ञानलाई पनि पुष्टी गरेको छ ।” उनले निर्वाचन प्रणालीबारे थप स्पष्ट पार्दै भने “एकल सङ्क्रमणीय निर्वाचन प्रणाली भनेको समानुपातिक निर्वाचन प्रणालीकै एउटा रूप हो ।” उनले ओलीको बौद्धिक दरिद्रताको कटाक्ष गर्दै भने “समानुपातिक निर्वाचन प्रणालीलाई बुझ्नु उखान टुक्का भन्नु जस्तो होइन ।”
उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा नेवाः प्रदेश समितिका सहइन्चार्ज लाल वहादुर तामाङले परिणाममुखी आन्दोलन र निर्वाचनका लागि पार्टी सङ्गठन विस्तार मात्र होइन चलायमान पनि गर्नुपर्ने बताए भने काठमाडौँ जिल्ला इन्चार्ज रमेशचन्द्र प्रधानले ससफो नेपाल दुई नम्बर प्रदेश हाँक्ने र केन्द्रमा पनि शक्तिका साथ उभिने राजनीतिक शक्ति हुने विश्वास व्यक्त गरे ।

जिल्ला उपसचिव प्रेमराज शिल्पकारले सञ्चालन गरेको कार्यक्रममा पार्टी राजनीतिक समितिका सदस्य डा महेशमान श्रेष्ठ, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज पवित्र बज्राचार्य, केन्द्रीय सदस्य द्वय शान्त कुमार प्रधान, विष्णुजङ्ग बस्नेत, केन्द्रीय सल्लाहकार मोहन वहादुर महर्जन, नेवाः प्रदेश समितिका मुख्य सचिव सन्तोष सिलवाल, काठमाडौँ जिल्ला समिति अध्यक्ष मनरत्न शाक्य, नेपाल उद्योग तथा व्यवसाय महासङ्घका अध्यक्ष राधाकृष्ण महर्जन, केन्द्रीय सामाजिक सेवा विभागका सदस्य रेणुका गुरुङ्, सङ्घीय समाजवादी नेवा सङ्घका उपाध्यक्ष शेष नारायण महर्जन, लगायतका नेताहरू उपस्थित थिए । उक्त कार्यक्रममा पार्टीको तर्फबाट उम्मेदवार भएका प्रतिनिधिसभसा र प्रदेशसभाका सबै उम्मेदवारहरूले आफ्नो तर्फबाट समिक्षात्मक प्रतिवेदन पेस गरेका थिए ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *